काठमाडौंमा फेरि आत्मदाह प्रयास, बुद्धनगरमा एक पुरुष गम्भीर घाइते

काठमाडौं, २७ असार । काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटनामा उहाँ गम्भीर घाइते हुनुभएको छ।

प्रहरीका अनुसार बुद्धनगर निवासी ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान करिब ६:१५ बजे आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाउनुभएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले उहाँको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार चिकित्सकहरूले राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको र उहाँको अवस्था गम्भीर रहेको बताएका छन्।

प्रहरीका अनुसार राउत श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आउनुभएको थियो। घटना भएको समयमा भने श्रीमती र छोरा घरमा उपस्थित नरहेको जनाइएको छ।

आत्मदाह प्रयासको कारण खुल्न बाँकी रहेको भए पनि प्रारम्भिक जानकारीअनुसार शुक्रबार उहाँको आफ्नै छोरासँग विवाद भएको छिमेकीहरूले बताएका छन्।

प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ

प्रकाशित मिति: २७ असार २०८३, शनिबार  १० : ०८  बजे