काठमाडौं, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ वटा केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो ।
केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपीनकुमार आचार्यले जानकारी दिनुभयो । बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनीत गरेको छ ।
बैठकअघि आज नविनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुका साथै प्रमाणपत्र बुझेका थिए ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो । महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित हुनुभएको छ । रास्वपाका वरिष्ठ नेतासहित ११ जना पदाधिकारी मनोनीत हुनेछन् । यस्तै ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।







प्रतिक्रिया