प्रधानमन्त्री सदनमा आउनुस् वा नआउनुस् अब सरोकार छैन : कांग्रेस

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूलाई कुनै सरोकार नरहेको बताएको छ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको भूमिकाप्रति कडा टिप्पणी गर्दै यस्तो धारणा राख्नुभएको हो।

उहाँले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा बोल्दै प्रधानमन्त्रीप्रति लक्षित गर्दै भन्नुभयो, “उहाँ आउनुस् नआउनुस् हामीलाई अब सरोकार भएन। उहाँ अब गौण हुनुभयो। अब हामीलाई उहाँको उपस्थिति जरुरी भएन।”

उहाँले प्रधानमन्त्रीले जेठ १७ गते संसदमा दिएको अभिव्यक्तिको घोर भर्त्सना गर्दै त्यसले संसदीय मर्यादामा असर पारेको बताउनुभयो।

आङ्देम्बेले सदन अवरोध हुँदा विभिन्न महत्वपूर्ण कामहरू प्रभावित हुने भएकाले त्यसलाई निरन्तरता दिनु उपयुक्त नहुने धारणा पनि राख्नुभयो। उहाँका अनुसार पार्टीभित्र प्रधानमन्त्रीलाई राजनीतिक रूपमा दबाबमा राख्ने विषयमा पनि छलफल भएको थियो।

“मेरै पार्टीभित्र पनि प्रधानमन्त्रीलाई अलि गाह्रै हुने गरी पेल्नुपर्छ भन्ने विचार आएको थियो,” उहाँले भन्नुभयो, “तर सीमा विवादजस्ता संवेदनशील विषयमा लम्बिँदै जाँदा राष्ट्रियता कमजोर हुने अवस्था आउन सक्छ।”

उहाँले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्तिबारे स्पष्टता दिनुपर्ने अडान भने कायमै रहेको बताउनुभयो। साथै, उक्त अभिव्यक्ति सदनको रेकर्डमा रहिरहने विषय गम्भीर भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षबीच विवाद चर्किँदै जाँदा संसद्को गतिरोध अझै कायम रहेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १८ : ०७  बजे