पर्सामा रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा फिर्ता, सहकारी ठगी मुद्दामात्र कायम

काठमाडौं, २६ जेठ । पर्सा जिल्ला अदालतबाट रवि लामिछाने विरुद्ध दायर संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता भएको छ।

महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिल कार्यालयमार्फत आरोपपत्र संशोधनका लागि अदालतमा निवेदन दर्ता गरिएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको आदेश दिएको अदालत स्रोतले जनाएको छ।

अदालतको आदेशसँगै पर्सा जिल्लामा लामिछानेविरुद्ध अब सहकारी ठगीसम्बन्धी मुद्दामात्र कायम रहने भएको छ। कानुनी व्यवस्थाअनुसार उक्त मुद्दामा पीडित र आरोपी पक्षबीच मिलापत्रको सम्भावना पनि खुला रहेको बताइएको छ। मिलापत्र भएमा सहकारी ठगीसम्बन्धी मुद्दा पनि फिर्ता हुन सक्ने कानुनी आधार रहेको जानकारहरू बताउँछन्।

यसअघि पनि कास्की जिल्ला अदालत बाट लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता भइसकेको थियो।

पर्सा अदालतको पछिल्लो आदेशसँगै लामिछानेसँग सम्बन्धित बहुचर्चित कानुनी प्रकरणले नयाँ मोड लिएको छ। यद्यपि सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइ र त्यसको कानुनी प्रक्रिया भने अझै जारी रहनेछ।

यस विषयले राजनीतिक तथा कानुनी वृत्तमा चासो बढाएको छ भने आगामी प्रक्रियाले मुद्दाको अन्तिम दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  २० : ४४  बजे