रास्वपा सिरहा अधिवेशनमा झडप, निर्वाचन प्रक्रिया स्थगित

सिराहा, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच झडप भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

सिराहाको जिरोमाइलस्थित अधिवेशनस्थलमा सोमबार सभापति चयन प्रक्रियालाई लिएर विवाद चर्किएपछि कार्यकर्ताबीच कुटाकुट भएको हो। घटनामा रास्वपाको र्‍यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापासहित केही व्यक्ति घाइते भएका छन्।

पार्टी स्रोतका अनुसार झडपका क्रममा र्‍यापिड एक्सन टिमका एक सदस्यको सर्ट च्यातिएको छ भने उनको औँलामा समेत चोट लागेको छ। घटनापछि अधिवेशनस्थल केही समय तनावग्रस्त बनेको थियो।

जिल्ला सभापति पदका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहेका थिए। रामसोगारथ यादव सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने पक्षमा रहे पनि सुभाष यादव र हरि मैनालीले निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिएका थिए। यही विषयमा देखिएको मतभेद झडपमा परिणत भएको बताइएको छ।

घटनापछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गर्नुभएको विज्ञप्तिमा अधिवेशनस्थलको सुरक्षा अवस्था र उत्पन्न तनावलाई मध्यनजर गर्दै निर्वाचन प्रक्रिया मंगलबार बिहान ९ बजेसम्मका लागि रोकिएको उल्लेख छ।

निर्वाचन आयोगका अनुसार जिल्ला नेतृत्व तथा सम्बन्धित पक्षहरूसँग छलफलपछि अवस्था सामान्य बन्दै गएको छ। सहमति र समझदारीको वातावरण निर्माण भएपछि मंगलबार बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ।

आयोगले सबै पक्षलाई संयमता अपनाउन, पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्न तथा शान्तिपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न आग्रह गरेको छ।

रास्वपाभित्र विभिन्न जिल्लामा अधिवेशन चलिरहेका बेला सिराहामा भएको यो घटनाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र संगठनात्मक व्यवस्थापनबारे नयाँ बहस समेत सुरु गरेको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ०९ : १५  बजे