दिल्लीमा खनाल–जयशङ्कर वार्ता : व्यापार, लगानी र ऊर्जा सहकार्य विस्तारमा जोड

काठमाडौं, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशङ्कर बीच नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। दुई मन्त्रीबीच भएको छलफलमा द्विपक्षीय व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी र जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ।

भारतीय विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै नेपाल र भारतबीचको बहुआयामिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको बताएका छन्। पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, प्रसारण लाइन विस्तार, सीमापार पूर्वाधार र आर्थिक साझेदारीलाई प्राथमिकतामा राख्दै आएका दुई देशबीचको सम्बन्धलाई थप गहिरो बनाउने प्रयासस्वरूप यो भेटलाई हेरिएको छ।

परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्रीको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले सँग पनि भेटवार्ता गरेका थिए। त्यस्तै, उनले नयाँ दिल्लीस्थित India Foundation द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र साझा विकासका सम्भावनाबारे धारणा राखेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशबीचका राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उच्चस्तरीय संवाद जारी रहेको छ। मन्त्री खनाल आज स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

कूटनीतिक सन्देश के?

खनालको दिल्ली भ्रमणलाई केवल औपचारिक भेटघाटका रूपमा मात्र नभई वर्तमान क्षेत्रीय राजनीतिक परिवेशमा नेपालको कूटनीतिक सक्रियताका रूपमा पनि हेरिएको छ। पछिल्लो समय ऊर्जा निर्यात, व्यापार घाटा न्यूनीकरण, सीमापार पूर्वाधार निर्माण तथा लगानी विस्तारका विषयमा नेपालले भारतसँग थप सहकार्य खोजिरहेका बेला भएको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

विशेषगरी हालै विभिन्न नेपाली राजनीतिक नेताहरूको भारत भ्रमण र उच्चस्तरीय भेटघाटहरू भइरहेका बेला परराष्ट्रमन्त्रीको औपचारिक दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धलाई संस्थागत तहबाट अघि बढाउने सन्देश दिएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  ०६ : ५७  बजे