‘देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुँदैछ’ — कांग्रेस नेता अर्जुननरसिंह केसी

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ले संसदीय प्रक्रिया र लोकतान्त्रिक पद्धतिमाथि निरन्तर हस्तक्षेप भइरहेको आरोप लगाउँदै देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुने संकेत देखिएको चेतावनी दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले लोकतन्त्र केवल बहुमतको आधारमा चल्ने व्यवस्था नभई बहुमत र वैधानिक प्रक्रियाको सन्तुलित अभ्यास भएको बताउनुभएको छ। उहाँले नयाँ सरकार गठन भएको छोटो समयमै संसदीय मूल्य, मान्यता र प्रक्रियामाथि बारम्बार आक्रमण भइरहेको टिप्पणी गर्नुभएको छ।

“लोकतान्त्रिक पद्धति बहुमतमा आधारित अवश्य हो, तर बहुमतको दम्भले मात्र राज्य सञ्चालन हुँदैन,” उहाँले भन्नुभएको छ, “संसदीय प्रक्रिया र पद्धतिमाथि भइरहेको निरन्तर हस्तक्षेपले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने खतरा बढाएको छ।”

केसीले संसद्मा दर्ता भइसकेको कुनै पनि विधेयक संसद्को सम्पत्ति बन्ने भएकाले त्यसलाई कार्यकारी आदेश वा राजनीतिक दबाबका आधारमा फिर्ता लिन, रोक्न वा परिवर्तन गर्न नमिल्ने जिकिर गर्नुभएको छ। यस्तो कार्य संसदीय नियमावली, मर्यादा र अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरीत रहेको उहाँको भनाइ छ।

विशेषगरी आर्थिक विधेयक प्रस्तुत भइसकेपछि ‘त्रुटि सुधार’ को नाममा करका दर परिवर्तन गर्ने प्रयासलाई उहाँले गम्भीर विषयका रूपमा लिनुभएको छ। यसले विधायिकाको अधिकारमाथि कार्यपालिकाको हस्तक्षेपलाई संस्थागत गर्ने र खतरनाक नजिर बसाल्ने चेतावनी उहाँले दिनुभएको छ।

नेता केसीले बहुमतको बलमा संसदीय प्रक्रिया मिच्ने प्रवृत्ति बढे संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभयो। उहाँका अनुसार विवादित विषयहरूलाई औपचारिक संशोधनमार्फत संसद्को प्रक्रियामा ल्याएर समाधान गर्नु नै लोकतान्त्रिक र सम्मानजनक बाटो हो।

“यदि संसदीय प्रक्रिया र संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै कार्यपालिका अघि बढ्ने हो भने संविधान, संसद् र लोकतान्त्रिक प्रणाली केवल औपचारिकतामा सीमित हुनेछन्,” उहाँले भन्नुभएको छ, “यस्तो अवस्था देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको संकेत हुन सक्छ।”

उहाँको अभिव्यक्तिपछि संसदीय प्रक्रिया, बजेट संशोधन र कार्यपालिका–विधायिका सम्बन्धबारे राजनीतिक वृत्तमा थप बहस सुरु भएको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार  १९ : ३८  बजे