सरकारको ध्यानाकर्षण गराउन जनमत पार्टीको माइतीघरमा प्रदर्शन, सुरक्षा व्यवस्थाका लागि प्रशासनलाई आग्रह

काठमाडौं, २३ जेठ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी ले आफ्ना एजेन्डाप्रति सरकारको ध्यानाकर्षण गराउन सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएको छ।

पार्टी अध्यक्ष राउतले सोमबार बिहान ९ बजे माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पार्टीले लामो समयदेखि उठाउँदै आएका विभिन्न राजनीतिक तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गर्न लागिएको हो।

अध्यक्ष राउतले काठमाडौं उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई निर्धारित समयमा माइतीघर मण्डलमा उपस्थित हुन आग्रह गर्नुभएको छ।

प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन पार्टीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचारसमेत गरेको जनाएको छ। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन प्रशासनसँग समन्वय गरिएको पार्टीको भनाइ छ।

यसैबीच, जनमत पार्टीले जेठ २४ र २५ गते केन्द्रीय समितिको विस्तारित बैठकसमेत आयोजना गरेको जनाएको छ। बैठकमा पार्टीको आगामी रणनीति, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

जनमत पार्टीले प्रदर्शनमार्फत आफ्ना राजनीतिक एजेन्डा र जनसरोकारका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने तयारी गरेको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार  १५ : ५७  बजे