काठमाडौं, १८ जेठ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसदमा व्यक्त गर्नुभएको सीमा सम्बन्धी अभिव्यक्तिलाई “खतरनाक, गलत र राष्ट्रविरोधी” भन्दै कडा आलोचना गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता खनालले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशभित्र र बाहिर रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामा चोट पुगेको दाबी गर्नुभएको छ। उहाँले प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा दिएको हो भन्ने प्रश्नसमेत उठाउनुभएको छ।
खनालले लेख्नुभएको छ, “नेपालले समेत भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति अत्यन्त गम्भीर, दु:खद र राष्ट्रविरोधी हो। यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन।”
उहाँले प्रधानमन्त्री शाहलाई उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसद्को अभिलेखबाट समेत हटाउन आग्रह गर्नुभएको छ। साथै, देशभक्त नागरिकहरूलाई विरोधमा उत्रिन आह्वानसमेत गर्नुभएको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको हुनसक्ने जानकारी आफूले पाएको बताउनुभएको थियो। उक्त अभिव्यक्तिपछि राजनीतिक दलका नेता, सीमाविद् तथा विभिन्न क्षेत्रबाट निरन्तर प्रतिक्रिया आइरहेका छन्।








प्रतिक्रिया