काठमाडौं, १७ जेठ। प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि राजनीतिक तथा बौद्धिक वृत्तमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।
संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि भारतको भूमि मिचेको जानकारी आफूले पाएको बताउनुभएको थियो। उक्त अभिव्यक्तिपछि विपक्षी दलका नेताहरूले सदनमै आपत्ति जनाएका थिए भने सामाजिक सञ्जालमा पनि व्यापक बहस सुरु भएको छ।
संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्रीको भनाइलाई असामान्य र गम्भीर भन्दै सीमा जस्तो संवेदनशील विषयमा तेस्रो देशको संलग्नताको कुरा उठाइनु थप चिन्ताजनक भएको टिप्पणी गर्नुभएको छ। उहाँले यस्तो अभिव्यक्तिले नेपालको भौगोलिक अखण्डतासम्बन्धी विषयमा भ्रम सिर्जना गर्न सक्ने बताउनुभएको छ।
त्यस्तै, भीम रावल ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै त्यसप्रति असहमति जनाउनुभएको छ। एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ले प्रधानमन्त्रीको भनाइलाई आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य भन्दै तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमा माग्न आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ले नेपालले कुनै पनि छिमेकी मुलुकको भूमि नमिचेको दाबी गर्दै प्रधानमन्त्रीको भनाइको आधार, स्रोत र प्रमाण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले सीमा सम्बन्धी विषयमा राष्ट्रिय धारणा एक हुनुपर्नेमा जोड दिनुभएको छ।
यसैबीच, नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई ले प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण नेपाली जनताको भावनामा आघात पुगेको उल्लेख गर्दै उक्त भनाइ तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले पनि संसद्को रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयमा गरिएको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गर्दै सरकारसँग यथार्थ स्पष्ट पार्न माग गर्नुभएको छ।
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर राजनीतिक दल, सीमाविद्, संविधानविद् तथा सर्वसाधारणबीच बहस जारी रहेको छ। विपक्षी नेताहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र आवश्यक परे सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने धारणा राखिरहेका छन्।








प्रतिक्रिया