नेपालले पनि भारतको भूमि मिचेको रहेछ : प्रधानमन्त्री शाह

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी छलफलमार्फत समाधान गरिने बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा विवादका विषयमा भारतसँग संवाद जारी रहेको जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री बनेपछि प्राप्त जानकारीअनुसार भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको विषय खुल्न आएको बताउनुभयो ।

“म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि भारतको भूमि केही स्थानमा मिचेको रहेछ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “यस विषयलाई दुवै पक्ष बसेर तथ्यका आधारमा अध्ययन र समाधान गर्नुपर्छ ।”

प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाधुरा लगायतका विवादित क्षेत्रका विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक पत्राचार गरेको र त्यसको जवाफ प्राप्त भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै देशका इतिहासविद् तथा सीमासम्बन्धी विज्ञहरूको सहभागितामा ‘टेबल टक’ मार्फत सीमा सम्बन्धी विषयमा छलफल गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि बेलायत सरकारसँग समेत संवाद गरिएको जानकारी दिँदै ऐतिहासिक पृष्ठभूमिसँग जोडिएका विषयमा सम्बन्धित पक्षहरूको सरोकार आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाल–भारत सम्बन्धलाई मित्रवत् ढंगले अगाडि बढाउँदै सीमा विवादको दीर्घकालीन समाधान खोजिने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  १५ : ०५  बजे