देशलाई अहिले आत्मविश्वासभन्दा बढी आर्थिक स्रोत आवश्यक छ : प्रधानमन्त्री बालेन शाह

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन शाहले वर्तमान सरकारको प्राथमिकता देशको आर्थिक क्षमता विस्तार र आम्दानी वृद्धि रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले देशभित्र उत्पादन भएका वस्तुको निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्र सुदृढ बनाउन सरकार केन्द्रित रहेको जानकारी दिनुभयो ।

उहाँले निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले विभिन्न नीतिगत सहुलियतहरू प्रदान गरेको उल्लेख गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन प्रयास भइरहेको बताउनुभयो ।

“हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने कर छुटको व्यवस्था गरेका छौँ । हामी निर्यातमुखी हुनुपर्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “देशमा उत्पादन भएका वस्तु विभिन्न राष्ट्रमा निर्यात गर्न सकून् भन्ने उद्देश्यले केही व्यवस्थाहरू दुई वर्षका लागि स्थगित गरेका हौँ ।”

प्रधानमन्त्री शाहले वर्तमान अवस्थामा देशलाई आत्मविश्वास बढाउने भाषणभन्दा पनि आर्थिक स्रोत र लगानी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

“अहिले देशमा आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई पैसा चाहिएको छ । त्यसैले सरकारको ध्यान आर्थिक गतिविधि विस्तार र आम्दानी बढाउनेतर्फ केन्द्रित छ,” उहाँले भन्नुभयो ।

उहाँले उत्पादन, निर्यात, लगानी र आर्थिक गतिविधि विस्तारमार्फत मुलुकको आर्थिक अवस्था सुधार गर्ने सरकारको लक्ष्य रहेको समेत बताउनुभयो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  १५ : ०३  बजे