काठमाडौँ, १७ जेठ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने देखिएको हो ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहने तथा अन्य पहाडी क्षेत्र र लुम्बिनीको तराईमा आंशिक बदली रहने जनाइएको छ । केही हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ ।








प्रतिक्रिया