काठमाडौँ, १७ जेठ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस आज विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु हो ।
विश्व स्वास्थ्य संगठन का अनुसार सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा त्यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवसको सुरुआत गरिएको हो । सन् १९८८ देखि हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै आएको छ ।
डब्लुएचओका तथ्याङ्कअनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् । तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकमा बसोबास गर्छन् । सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको बताइएको छ ।
यस वर्षको दिवसको अवसरमा डब्लुएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष पहल गर्न आग्रह गरेको छ । संगठनका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका करोडौँ बालबालिका सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन् भने ई–सिगरेट र निकोटिन पाउचको प्रयोग युवापुस्तामाझ तीव्र रूपमा बढिरहेको छ ।
डब्लुएचओले सुर्ती तथा निकोटिनजन्य उत्पादन बनाउने कम्पनीहरूले आफ्ना उत्पादनलाई आकर्षक र प्रयोग गर्न सहज बनाउँदै किशोर तथा युवालाई लक्षित गरिरहेको जनाएको छ । विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत युवापुस्तामा लत बढाउने प्रयास भइरहेको संगठनको भनाइ छ ।
संगठनले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रवर्द्धन नियन्त्रण गर्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।
डब्लुएचओले सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ ।








प्रतिक्रिया