काठमाडौं, १५ जेठ । काठमाण्डौको टुँडिखेलमा रहेको सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।
यसपालिको विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभयो । अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने परम्परा थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
त्यसैगरी मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, पालिकाका प्रमुख तथा पदाधिकारी, काठमाण्डौमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कर्मचारी सहभागी भएको थिए ।
समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराउनुका साथै शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाण्डौ महानगर प्रहरी बलका तर्फबाट मार्चपास भएको थियो ।








प्रतिक्रिया