काठमाडौं, १२ जेठ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित बन्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले विपक्षी दलले तमासा देखाएको आरोप लगाउनुभयो ।
सरकारले ८ वटा अध्यादेश किन ल्याउनु पर्यो भनेर आफूलाई आज महसुस भएको उहाँको टिप्पणी थियो । संविधान जारी भएपछि बन्नुपर्ने ऐन र कानूनहरू संसदमा हुने यस्तै तमासाले नै बन्न नसकेको खरेलले जिकिर गर्नुभयो ।
सांसद खरेलले पर्यटनसम्बन्धी ऐन नबनेको आधा शताब्दी भइसकेको भन्दै ४८ वर्षदेखि बन्न नसकेको ऐन बनाउन अघि बढ्दा एउटा प्रधानमन्त्री आउने/नआउने कुराले हलो अड्काउन नमिल्ने बताउनुभयो । खरेलले भन्नुभयो,‘संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो तर, कानुन बनाउने थलो पनि हो । यो स्मरण गराउन चाहन्छु ।’
सांसद खरेलले सदनबाट कानून बनाउने कुरालाई कसैले अवरोध गर्न नसक्ने बताउनुभयो । सांसद खरेलको धारणापछि विपक्षी दलका सांसद थप आक्रोशित भएपछि सभामुख डोलप्रसाद अर्यालले छलफल बीचैमा रोकेर बैठक स्थगित गर्नुभएको थियो । प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने माग गर्दै आज पनि विपक्षी दलहरूले कार्यसूची प्रवेशमा अवरोध गर्नुभयो ।








प्रतिक्रिया