गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सम्बोधन हुने, प्रधानमन्त्रीको प्रस्ताव स्वीकार

काठमाडौं, ११ जेठ । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिका अध्यक्षका रूपमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्ताव स्वीकृत भएको छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट निर्णय गराउँदै राष्ट्रपतिलाई सम्बोधनका लागि औपचारिक रूपमा आग्रह गरेका थिए। उक्त प्रस्ताव राष्ट्रपति कार्यालयले स्वीकार गरेको स्रोतले जनाएको छ।

राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिहरूले करिब सात दिनअघि राष्ट्रपति सचिवालयका अधिकारीहरूसँग भेट गरी गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सम्बोधन गराइदिन आग्रह गरेका थिए।

उनीहरूले “गणतन्त्रको प्रतीक” का रूपमा राष्ट्रपतिबाट सम्बोधन गराउँदा उपयुक्त हुने धारणा राखेका थिए। तर राष्ट्रपति सचिवालयले प्रचलित अभ्यास र कानुनी प्रक्रियाबारे सचेत गराउँदै यस विषयमा औपचारिक निर्णय आवश्यक हुने बताएको थियो।

उक्त उच्च अधिकारीका अनुसार छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले परम्परा र मर्यादाक्रमलाई मात्र नभई नयाँ अभ्यास बसाल्ने विषय भएमा सहमतिका साथ अघि बढ्न सकिने धारणा व्यक्त गर्नुभएको थियो।

प्रधानमन्त्री पक्षबाट कानुनी परामर्शपछि पुनः प्रक्रिया अघि बढाउने भनिए पनि अन्ततः औपचारिक पत्राचारमार्फत प्रस्ताव दर्ता गरिएको थियो।

राष्ट्रपति कार्यालयले उक्त पत्र सोमबार दर्ता गरी प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेको जनाएको छ। यससँगै यस वर्षको गणतन्त्र दिवसमा राष्ट्रपतिबाट विशेष सम्बोधन हुने भएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १९ : १३  बजे