काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बन्द कोठामा सञ्चालन गरिएको भन्दै केही सांसदहरूले विरोध जनाएका छन्।
शुक्रबार बसेको समितिको बैठकमा बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरको अनुगमनपछि देखिएका विषयमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने एजेन्डा राखिएको थियो।
बैठक सुरु भएपछि सञ्चारकर्मीहरूलाई केही समय फोटो खिच्न दिइए पनि पछि बाहिर निकालिएको थियो। त्यसपछि केहीबेर छलफलमा सहभागी भएका मन्त्री सुनिल लम्साल बैठकबाट बाहिरिएपछि परिस्थिति थप जटिल बनेको सांसदहरूले बताएका छन्।
त्यसपछि बन्द कोठामा बैठक सञ्चालन गरिएको भन्दै केही सांसदहरूले बैठक बहिष्कार गरेका छन्। बहिष्कार गर्नेमा नेपाली कांग्रेसका सचेतक निश्कल राई, नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राई र सत्तारूढ रास्वपाका सांसद अमरेश सिंह रहेका छन्।
सांसदहरूले बैठक सञ्चालन शैलीप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक अभ्यास कमजोर पार्ने प्रयास भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले संसद् र समितिको बैठक खुला र पारदर्शी हुनुपर्नेमा जोड दिँदै बन्द कोठामा सञ्चालन गरिनु आपत्तिजनक भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सार्वभौम जनताको आवाज बोकेर जनप्रतिनिधि यहाँ आएका हौँ। प्रेसलाई बाहिर राखेर बैठक चलाइयो भने हामी उपस्थित हुँदैनौँ।’
सांसदहरूका अनुसार मन्त्रीको अनुपस्थितिमा कर्मचारीसँग मात्रै छलफल गरिनु उपयुक्त नभएको भन्दै बैठक छोडिएको हो।
उनीहरूले मन्त्रालयका मन्त्री व्यस्त रहेको भन्दै बैठक सार्न सकिन्थ्यो भन्ने धारणा पनि राखेका छन्।








प्रतिक्रिया