मोलमोलाइ गर्ने ९ जना विदेशी नागरिक पक्राउ

काठमाडौं, ७ जेठ । ठमेल क्षेत्रबाट ९ जना विदेशी नागरिक पक्राउ परेका छन्। बाटोमा हिंड्ने विदेशी तथा स्वदेशी पर्यटकलाई अनावश्यक दुःख दिने र अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ९ जना विदेशीलाई बुधबार नियन्त्रणमा लिएको बताउनुभयो। पक्राउ पर्नेमा बंगलादेश, भियतनाम र युगाण्डाका महिलाहरू रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रवक्ता भट्टराईका अनुसार ती विदेशी नागरिकहरूले ठमेल क्षेत्रमा सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिने गरेका थिए।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार  २१ : ०१  बजे