बाँदर आतंक नियन्त्रण गर्न लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं, १ जेठ । लालीगुराँस नगरपालिका ले बाँदरको बढ्दो आतंक नियन्त्रण गर्न जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ। कृषकको अन्नबाली र तरकारी जोगाउन सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न यस्तो निर्णय गरिएको हो।

नगर प्रमुख अर्जुन माबोहाङ द्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरिएको छ। खेतबारी जोगाउन किसान रातदिन खटिनुपर्ने अवस्था सिर्जना भएको तथा बालबालिकासमेत पढाइ छाडेर बाली कुर्न बाध्य भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेटेर नगर क्षेत्र बाहिर पठाउने कार्यक्रम तय गरेको छ। यसका लागि वडाले तोकेको स्थान र समयमा उपस्थित भई अभियानमा सहभागी हुन कृषक, कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणलाई आह्वान गरिएको छ।

नगर प्रमुख माबोहाङले बाँदरको समस्या ग्रामीण किसानको जीविकोपार्जनमै गम्भीर असर बनिसकेको बताउनुभएको छ। उहाँले आफ्नो कार्यकालको सुरुमै बाँदर नियन्त्रणका लागि ‘रुँगालो’ खटाउँदा धेरैले मजाक बनाएको स्मरण गर्दै अहिले समस्या झन् विकराल बन्दै गएको उल्लेख गर्नुभयो।

हाल वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंहथाप पुछार क्षेत्रमा बाँदर नियन्त्रणका लागि रुँगालो परिचालन गरिएको नगरपालिकाले जनाएको छ। अहिले विभिन्न क्षेत्रमा चार जना रुँगालो खटाइएको छ।

नगरपालिकाले बाँदर प्रभावित सामुदायिक वन क्षेत्रमा अम्बक, नासपातीलगायत बाँदर आकर्षित हुने फलफूलका बिरुवा रोप्ने योजना पनि अघि बढाएको छ। वन क्षेत्रमा नै खानेकुरा उपलब्ध गराएर बाँदर बस्ती र खेतबारीमा पस्ने क्रम घटाउने उद्देश्य रहेको जनाइएको छ।

पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा बाँदरको समस्या तीव्र बन्दै गएको छ। मकै, आलु, फलफूल तथा तरकारी खेतीमा ठूलो क्षति हुन थालेपछि किसान खेती नै छाड्न बाध्य भएको गुनासो बढिरहेको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  ०७ : १०  बजे