रास्वपासँग रामेश्वर खनालको प्रश्न : ‘गालीगलौजमा उत्रने जत्था किन पाल्नुपर्‍यो ?’

काठमाडौं, ३१ वैशाख । । पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यक्तिगत गालीगलौजमा उत्रिने समूहबारे गम्भीर प्रश्न उठाउनुभएको छ ।

बिहीबार फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले जनताको ठूलो विश्वास प्राप्त नेताहरूले त्यस्ता व्यवहार गर्ने कार्यकर्तालाई किन संरक्षण गर्नुपरेको भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो (भने), ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा केही असल, चरित्रवान मित्रहरू हुनुहुन्छ । जनताको अद्भूत विश्वास छ,’ भन्दै उहाँले थप भन्नुभयो (भने), ‘तर स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्‍यो ?’

खनालले राजनीतिक बहसलाई स्वस्थ र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै गालीगलौज र व्यक्तिगत आक्रमणको प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि हानिकारक हुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो (भने), ‘अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि पनि भएको थियो । यस्तो प्रयास ठीक होइन । केही समय चल्ला, तर पछि जनता निराश हुनेछन् ।’

त्यसैगरी उहाँले व्यक्तिगत गालीगलौजमा संलग्न समूहलाई निरुत्साहित गर्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

उहाँले अन्त्यमा भन्नुभयो (भने), ‘असल विचारहरूले नै समाज विकास हुन्छ, गालीगलौजको दानवी चरित्रले होइन ।’

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  २१ : ३७  बजे