काठमाडौं, २९ वैशाख ।नेपाली कांग्रेसका नेताहरू विश्वप्रकाश शर्मा र उदयशमशेर राणा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुग्नुभएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार नेताहरूबीच सत्ता सहकार्य, प्रदेश सरकारको नेतृत्व परिवर्तन तथा आलोपालो मुख्यमन्त्रीको विषयमा छलफल भइरहेको छ।
नेपाली कांग्रेस र नेकपा एमाले बीच हाल देशका छ वटा प्रदेशमा सत्ता सहकार्य रहेको छ। यसअघि भएको सहमतिअनुसार आलोपालो नेतृत्वको अभ्यास गर्ने विषयमा दुवै दलका नेताहरूबीच निरन्तर संवाद भइरहेको बताइएको छ।
मुख्यमन्त्री तत्काल परिवर्तन गर्ने वा बजेट पारित भएपछि मात्रै नेतृत्व हेरफेर गर्ने भन्ने विषयमा भने दुवै दल अझै निष्कर्षमा पुग्न बाँकी रहेको जनाइएको छ।
केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण, मन्त्रालय भागबन्डा र नेतृत्व परिवर्तनका विषयमा राजनीतिक छलफल तीव्र भइरहेका बेला कांग्रेस नेताहरूको गुण्डु भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।








प्रतिक्रिया