काठमाडौं, २४ बैशाख। सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत महत्वपूर्ण संवैधानिक पद रिक्त रहेका बेला संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह ले साँझ ५ बजेका लागि बैठक आह्वान गर्नुभएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको बताइएको छ। हाल सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशका रूपमा सपना प्रधान मल्ल ले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार लामो समयदेखि रोकिएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन परिषद्को बैठक बोलाइएको हो। संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी लाई आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को बैठक बोलाइएको हो। नयाँ अध्यादेशअनुसार परिषद्को गणपूरक संख्या चार कायम गरिएको छ भने उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।
सरकारले संवैधानिक निकायहरूमा रिक्त पदपूर्ति र निर्णय प्रक्रियालाई सहज बनाउन अध्यादेश ल्याएको दाबी गर्दै आएको छ। तर विपक्षी दलहरूले भने संसद् छलेर अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको भन्दै विरोध जनाउँदै आएका छन्।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया राजनीतिक र संवैधानिक रूपमा संवेदनशील मानिने भएकाले आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ। परिषद्को निर्णयले न्यायपालिका नेतृत्व चयनसँगै पछिल्लो राजनीतिक विवादलाई पनि नयाँ मोड दिन सक्ने अनुमान गरिएको छ।








प्रतिक्रिया