सुकुम्बासी संघ आन्दोलनमा, राजमार्गमा चक्काजाम र आमहड्तालको घोषणा

काठमाडौं, १७ वैशाख । सरकारले काठमाडौँ लगायत देशका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाएपछि अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।

बिहीबार पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो। दुई चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष अमर परियारले जानकारी दिए।

पहिलो चरणमा नेताहरूको ध्यानाकर्षण गराउने भएको छ। यस क्रममा प्रतिनिधि र प्रदेश सभाका सांसदलाई जानकारी दिने जनाइएको छ।

त्यसपछि वैशाख २० गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरिने अध्यक्ष परियारले बताउनुभयो । दोस्रो चरणमा जिल्ला, पालिका र बस्तीमा विरोध सभा र भेला गरिने जनाएको छ। देशभरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला कार्यालयमा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द नगरे र विस्तापित सुकुम्बासीको बसोबासको व्यवस्था नगरेमा जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै अनिश्चितकालीन आमहड्ताल गर्ने संघले जनाएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  १५ : ४७  बजे