अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै, बालेनसँगको भेट अझै अनिश्चित

काठमाडौं, १७ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केपछि गोर नेपाल आउन लागेका हुन् ।भारतका लागि अमेरिकी राजदूत समेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजनामा छन् ।

तर प्रधानमन्त्री शाहले हालसम्म भेटघाट सुनिश्चित गरेका छैन । बालेन सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै कार्यतालिका छैन । यद्यपि भेटघाटका लागि दबाब रहेको बुझिएको छ ।राष्ट्रपति ट्रम्पका विशेष दूतका रूपमा रहेका गोरको लक्ष्य प्रधानमन्त्रीसँग भेट्नु नै हो तर भेटघाट अझै सुनिश्चित नभएको बताइको छ । गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । हिजो मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए । नेपालमा प्रधानमन्त्री बालेनसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको भेटघाटको निश्चित भएको छ ।यो भ्रमण पनि सहायक विदेनमन्त्री कपुर जस्तै लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ । यद्यपि कपुरभन्दा गोर उच्च ओहदाका हुन् । हुन त कपुर पनि राष्ट्रपति ट्रम्पको सचिवालयमा बसेर काम गरिसकेका छन् । तर कपुरभन्दा गोरलाई ट्रम्प नजिक तथा शक्तिशाली मानिन्छ ।

बालेन प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना भन्दा बढी भइसक्यो । हालसम्म एक्लाएक्लै कसैलाई भेटेका छैनन् । चैत २५ गते सामूहिक रूपमा राजदूतहरुसँग भेटघाट गरेका थिए । बालेनको सचिवालय स्रोतहरू भन्छन्, विदेशबाट आउने राजदूत वा तल्लो तहका अधिकारीसँग भेट नगर्ने भनेका छन् । उनी राष्ट्र प्रमुख या शीर्ष मन्त्रीलाई मात्र भेट्ने मनस्थिति बनाएका छन् ।

वैशाख २८ गते भारतका विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउँदै छन् । सचिव मिस्री बालेनको भारत भ्रमणको औपचारिक निमन्त्रणा लिएर आउँदै छन् । त्यो निमन्त्रणा प्रधानमन्त्री बालेनलाई भेटेर बुझाउने कि परराष्ट्र मन्त्रालयलाई मार्फत बुझाउने अझै निश्चित भएको छैन ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  ०८ : ०३  बजे