हावाहुरी चलेका र ठूलो पानी परेका क्षेत्रमा जनजीवन प्रभावितः आज दिउँसोपछि क्रमिक सुधार हुने

काठमाडौं, १७ वैशाख। गएराति र हिजो बेलुका हावाहुरी चलेका तथा ठूलो पानी परेका क्षेत्रमा जनजीवन प्रभावित भएको छ । पूर्वानुमान अनुसार हिजो बेलुकापछि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसँगै पानी परेको हो ।सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीस लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र नवलपरासीस गण्डकीको नवलपुर, बागमतीको चितवन, काठमाण्डौ उपत्यका, मधेशका बारा, पर्सा र धनुषा, तथा कोशीका झापा र मोरङसहित आसपासका क्षेत्रमा हावाहुरी चलेको हो ।

आज बिहानदेखि हावाहुरी चल्नेक्रम रोकिएको छ । त्यस्तै प्युठानमा हिजो सबैभन्दा धेरै पानी पर्‍यो । प्युठानको हंसपुरमा झण्डै १०५ मिलिमिटरसम्म वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भए धेरै भारी अर्थात् ठूलो वर्षाका रूपमा गणना गर्ने गरिन्छ । त्यस्तै कास्की, म्याग्दी, तनहुँ, कपिलवस्तु, चितवन, सङ्खुवासभालगायतका जिल्लामा पनि ठूलो पानी परेको छ । यसले त्यस क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । अन्य धेरै जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।

अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । आज दिउँसो देशका धेरै ठाउँमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । कोशी र मधेश प्रदेशका साथै हिमाली र पहाडी भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना कायमै छ । तर हिजो र गएरातिको जस्तो हावाहुरी र वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि मौसममा क्रमिक सुधार हुने अनुमान छ ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  ०७ : ४४  बजे