देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धान तीव्र

काठमाडौं, २५ चैत : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्वमन्त्री डॉ. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उच्च स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको हो।

स्रोतले जनाएको छ, “अदालतले पक्राउ अनुमति दिइसकेको छ, तर उहाँहरू हाल नेपालमा नभएकाले पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन।”

हाल देउवा दम्पती विदेशमा रहनुभएको बताइएको छ। प्रतिनिधिसभा निर्वाचनअघि स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको उहाँहरू त्यहाँबाट हङकङतर्फ गएको समाचार पनि सार्वजनिक भएको थियो।

यसअघि जेनजी आन्दोलनका क्रममा देउवा निवासमा आक्रमण र आगजनी भएको थियो। बुढानीलकण्ठस्थित निवासमा आगलागीपछि जलेका नगद नोट भेटिएको विषय सार्वजनिक भएसँगै सम्पत्ति शुद्धीकरण विभागले घटनास्थल पुगेर मुचुल्का उठाएको थियो।

उक्त घटनापछि विभागले प्रारम्भिक छानबिन सुरु गरेको र अहिले अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अगाडि बढाइरहेको जनाइएको छ।

स्रोतका अनुसार सम्पत्ति स्रोत, नगद कारोबार तथा आगजनीपछि भेटिएका प्रमाणहरूमाथि विस्तृत अनुसन्धान भइरहेको छ।

यो घटनाले राष्ट्रिय राजनीतिमा थप तरंग सिर्जना गरेको छ भने प्रमुख विपक्षी दलसँग सम्बन्धित शीर्ष नेतृत्वमाथिको अनुसन्धानलाई निकै चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार  १३ : ४३  बजे