काठमाडौं, २४ चैत । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद् गठन भएको १२ दिनमै मन्त्रीहरूको मर्यादाक्रममा व्यापक हेरफेर गर्नुभएको छ।
मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रम स्वीकृत गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उक्त हेरफेर गरिएको हो।
नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो नम्बरमा यथावत रहनुभएको छ।
यसअघि तेस्रो नम्बरमा रहनुभएका गृहमन्त्री सुधन गुरुङ लाई पाँचौँ नम्बरमा झारिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल लाई चौथोबाट तेस्रो नम्बरमा उकासिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ लाई छैटौँबाट चौथो नम्बरमा ल्याइएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई पाँचौँबाट छैटौँ नम्बरमा सारिएको छ।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई १२औँ स्थानबाट सातौँ नम्बरमा ल्याइएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई अन्तिम स्थानबाट आठौँ नम्बरमा उकासिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई नवौँ नम्बरमा ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता दशौँ नम्बरमा राखिनुभएको छ।
शिक्षामन्त्री सस्मित पोखरेल ११औँ, संस्कृति मन्त्री खड्कराज पौडेल १२औँ तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना १३औँ नम्बरमा रहनुभएको छ।
कृषिमन्त्री गीता चौधरीलाई १४औँ नम्बरमा राखिएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह लाई अन्तिम स्थानमा राखिएको छ।
प्रधानमन्त्रीको यो निर्णयलाई मन्त्रिपरिषद्भित्र प्राथमिकता, राजनीतिक सन्तुलन र शक्ति समीकरण मिलाउने प्रयासका रूपमा हेरिएको छ।
राजनीतिक वृत्तमा यस हेरफेरलाई आगामी नीतिगत प्राथमिकतासँग जोडेर पनि विश्लेषण गर्न थालिएको छ।








प्रतिक्रिया