काठमाडौं, २४ चैत । नेकपा एमालेको विरोध प्रदर्शनमा सहभागी भएपछि डिजिटल यौनहिंसाको सिकार हुनुभएकी अमिसा पराजुलीको उजुरीमाथि अनुसन्धान प्रक्रिया तीव्र भइरहेका बेला एमालेका महिला सांसदहरूले पनि यस्तै प्रकृतिका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सोमबार साइबर ब्युरोमा ध्यानाकर्षण गराउनुभएको छ।
महिला तथा किशोरीहरूमाथि बढ्दो डिजिटल हिंसा, साइबर बुलिङ तथा अनलाइन दुर्व्यवहारका घटनाप्रति सरोकार व्यक्त गर्दै एमाले सांसदहरू पद्मा अर्याल र रामकुमारी झाँक्री सहितको टोली साइबर ब्युरोमा पुग्नुभएको हो।
सांसद झाँक्रीले पछिल्लो दशकमा आफू स्वयं पनि साइबर बुलिङको सिकार हुनुभएको उल्लेख गर्दै यसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा चित्रित गर्नुभयो।
“साइबर बुलिङको प्रवृत्ति अत्यधिक बढेको छ। पछिल्ला १० वर्षमा यसको सिकार म स्वयं पनि भएकी छु। स्वतन्त्र अध्ययनहरूले पनि त्यो पुष्टि गरेका छन्। अन्याय सहनु पनि पीडित हुनुको अर्को रूप रहेछ भन्ने महसुससहित यहाँ आएको हुँ,” उहाँले बताउनुभयो।
उहाँले सामाजिक सञ्जालको बढ्दो पहुँचसँगै महिला, किशोरी तथा युवाहरू अनलाइन हिंसाको चपेटामा पर्दै गएको उल्लेख गर्नुभयो। च्याट, भर्चुअल माध्यम तथा सामाजिक सञ्जालमार्फत घृणा, धम्की र हिंसात्मक अभिव्यक्तिहरू फैलिने क्रम बढेको उहाँको भनाइ थियो।
“अहिले केवल बलात्कार वा अपहरणको धम्की मात्र होइन, हत्या, एसिड आक्रमण, घरमा आगजनीजस्ता त्रासपूर्ण सन्देश र घृणाको प्रवृत्ति समेत बढ्दै गएको छ,” उहाँले बताउनुभयो।
यस्ता अपराध साइबर ब्युरोको कार्यक्षेत्रभित्र पर्ने भएकाले अनुसन्धान, दण्ड–सजायको अवस्था तथा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारिताबारे जानकारी लिन र आवश्यक नीतिगत पहलका विषयमा छलफल गर्न आफूहरू ब्युरोमा पुग्नुभएको झाँक्रीले स्पष्ट पार्नुभयो।
“नीतिगत तहमा आवश्यक सुधारका लागि हामी प्रतिबद्ध छौं। विद्यमान कानुन पर्याप्त छ कि छैन भन्ने बुझ्नु पनि हाम्रो प्रमुख उद्देश्य हो,” उहाँले बताउनुभयो।
साइबर ब्युरोका एसपी दिलीपकुमार गिरी ले सांसदहरूको टोली बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमाथि बढ्दो डिजिटल अपराधबारे जानकारी लिन आउनुभएको बताउनुभयो।
उहाँका अनुसार पछिल्लो समय डिजिटल यौनहिंसाका कारण पारिवारिक सम्बन्ध विच्छेद, सामाजिक प्रतिष्ठामा क्षति तथा घरपरिवार विखण्डनजस्ता गम्भीर असरहरू देखिन थालेका छन्।
“यस्ता घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको छ,” एसपी गिरीले जानकारी दिनुभयो।
निवेदन प्राप्त भएपछि प्रहरीले प्राविधिक तथा कानुनी रूपमा कसरी अनुसन्धान अगाडि बढाउँछ भन्नेबारे पनि सांसदहरूलाई अवगत गराइएको उहाँले बताउनुभयो।







प्रतिक्रिया