क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं, २० चैत्र  ।  संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा क्षेप्यास्त्र अवरोधपछि खसेको भग्नावशेष लागेर सात जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ।

अबु धाबी मिडिया अफिसका अनुसार आकाशमा प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले अवरोध गर्ने क्रममा खसेको भग्नावशेष अज्बान क्षेत्रमा मानिसमाथि परेको हो। घटनामा कुल १२ जना घाइते भएका छन्, जसमध्ये पाँच जना भारतीय नागरिक रहेका छन्।

अधिकांश घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको भए पनि एक नेपाली नागरिकको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पश्चिम एशियामा पछिल्लो समय चर्किँदै गएको युद्ध र क्षेप्यास्त्र आक्रमणका कारण त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर पुनः चिन्ता बढेको छ। यसअघि पनि यूएईमा यस्तै घटनामा एक नेपालीले ज्यान गुमाएको समाचार सार्वजनिक भएको थियो।

घटनापछि यूएई प्रशासनले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह नफैलाउन आग्रह गरेको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  १९ : ३५  बजे