काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी पार्टीलाई राय, सल्लाह र सुझाव दिन छुट्टै अध्ययन समिति गठन गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभएको हो।
समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहनुभएको छ।
कांग्रेसले उक्त समितिलाई कार्की आयोगको प्रतिवेदनको विस्तृत अध्ययन गरी सात दिनभित्र राय–सुझावसहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन जिम्मेवारी दिएको जनाएको छ।
भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले फागुन २३ गते सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
यद्यपि, प्रतिवेदनका मुख्य अंशहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भइसकेपछि राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ। कांग्रेसले यही सन्दर्भमा आफ्नो आधिकारिक धारणा तय गर्न अध्ययन समिति गठन गरेको बताइएको छ।







प्रतिक्रिया