काठमाडौं, १८ चैत्र। नेकपा एमालेले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हारको पछाडि मुख्य कारण नयाँ पुस्ता (जेनजी) को उदय र बदलिँदो मनोविज्ञान भएको निष्कर्ष निकालेको छ।
बुधबार बसेको एमाले जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा जेनजी पुस्ताको प्रभावले शक्ति सन्तुलनलाई नयाँ दिशातर्फ धकेलेको भन्दै हारका २० मुख्य कारणहरू प्रस्तुत गरेका छन्।
उनका अनुसार, निर्वाचनमा एमालेसहितका परम्परागत दलहरूले भोगेको चुनौती केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हो। नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारीभन्दा कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको पार्टीको विश्लेषण छ।
बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह, हर्क साम्पाङ जस्ता नयाँ शक्ति र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिक संरचनामा चुनौती खडा गरेको छ। पुराना दलहरूले लामो समय शासन गर्दा पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा सुधार नल्याएपछि युवा पुस्ता नयाँ विकल्पतर्फ आकर्षित भएको एमालेको बुझाइ छ।
साथै, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा बुझेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको धारणा पनि हारको कारण बनेको बताइएको छ।
एमाले भित्रको आन्तरिक एकता कमजोर देखिनु र स्थिरता दिन सक्ने विश्वासमा चोट पुगेको स्वीकार गर्दै पार्टीले प्रतिनिधि सभा निर्वाचनमा केवल २५ सिट मात्रै जितेको तथ्यलाई हारको परिणामको रूपमा उल्लेख गरेको छ।









प्रतिक्रिया