काठमाडौं, १४ चैत । नेपाली कांग्रेस ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चेतावनी दिएको छ।
शनिबार पार्टी प्रवक्ता देवराज चालिसे ले सार्वजनिक गर्नुभएको पाँच बुँदे धारणा मार्फत सरकारलाई उत्तेजनामा नआउन र विधिसम्मत प्रक्रिया अवलम्बन गर्न आग्रह गर्नुभएको हो।
उक्त धारणा अनुसार भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष, पारदर्शी र कानूनी प्रक्रिया अनुसार अनुसन्धान हुनुपर्नेमा कांग्रेस स्पष्ट रहेको जनाएको छ। ती दिन भएका घटनामा संलग्न सबै पक्षको पहिचान गरी कारबाही गर्नुपर्नेमा पार्टीको समर्थन रहने पनि जनाइएको छ।
“भदौ २३ को घटनामा संलग्नसँगै २४ गतेको आगजनी र विध्वंसमा को–को संलग्न थिए भन्ने विषय जनताले थाहा पाउनुपर्छ,” वक्तव्यमा उल्लेख छ।
कांग्रेसले दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै कारबाही आवेग वा राजनीतिक पूर्वाग्रहका आधारमा नभई विधिसम्मत हुनुपर्ने स्पष्ट पारेको छ।
पार्टीले सरकारलाई संयमता अपनाउन आग्रह गर्दै हतारमा गरिएका निर्णयले विधिको शासन कमजोर बन्ने र त्यसले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएको छ।
कांग्रेसले वर्तमान परिस्थितिमा सरकारको परिपक्वता र जिम्मेवार भूमिकालाई अत्यन्त महत्वपूर्ण ठहर गर्दै मुलुकको स्थायित्व, शान्ति र कानूनी शासन कायम गर्न गम्भीर बन्न आग्रह गरेको छ।







प्रतिक्रिया