नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, १३ चैत । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै १५ सदस्यीय टोली गठन गर्नुभएको थियो । सोहीअनुसार नियुक्त मन्त्रीहरूले आज औपचारिक रूपमा शपथ ग्रहण गर्नुभएको हो ।

मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल र ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ । त्यसैगरी पर्यटन मन्त्रीमा खडक पौडेल, शिक्षा मन्त्रीमा सस्मित पोखरेल र स्वास्थ्य मन्त्रीमा निशा मेहता रहनुभएको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानून मन्त्रीमा सोविता गौतम, कृषि मन्त्रीमा गीता चौधरी, श्रम मन्त्रीमा दीपक साह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी नियुक्त हुनुभएको छ ।

शपथ समारोहमा उच्च सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्रिपरिषद्ले अब देशको समसामयिक राजनीतिक तथा आर्थिक चुनौतीलाई सम्बोधन गर्दै सुशासन, विकास र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १३ : ११  बजे