विराटनगर, ११ चैत्र । विराटनगर महानगरपालिका–१७ स्थित कल्भर्टमुनि फेला परेको महिलाको शवको पहिचान खुलेसँगै हत्या प्रकरणमा नयाँ मोड आएको छ।
मंगलबार साँझ तन्नाले बेरिएको अवस्थामा फेला परेको शव विराटनगर–१५ निवासी कोमलकुमारी साहको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ।
प्रहरीका अनुसार मृतकका श्रीमान् रोशन साहले नै श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। तर, शवको हुलिया र हराएकी महिलाको विवरण मिलेसँगै प्रहरीले रोशनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका कारण रोशनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको र प्रमाण लुकाउन शवलाई तन्नामा बेरेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकको कल्भर्टमुनि फालेको खुलेको प्रहरीले जनाएको छ। मृतकको घर र शव भेटिएको स्थान करिब ५ किलोमिटर टाढा रहेको छ।
कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन्। रोशनले चैत ८ गते इलाका प्रहरी कार्यालय रानी मा हराएको निवेदन दिएका थिए। तर, दुई दिनपछि स्थानीयले कल्भर्टमुनि शव फेला पारेपछि घटना बाहिरिएको हो।
शव सडेको र दुर्गन्धित अवस्थामा रहेकाले सुरुआतमा पहिचान गर्न कठिन भए पनि हराएको निवेदनका आधारमा प्रहरीले पहिचान गर्न सफल भएको जनाएको छ। शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने प्रारम्भिक रूपमा घरेलु विवादकै कारण हत्या भएको आशंका गरिएको छ।







प्रतिक्रिया