मेरो स्कुलिङ थाहा नभएको कुरो बोल्नुहुन्न : उपमहासचिव भट्ट

काठमाडौं, ३० फागुन । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका पदाधिकारीहरुबीच कुनै विवाद नभएको बताउनुभएको छ । एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईबीच, नेताद्वय गोकुल बास्कोटा र शेरबहादुर तामाङबीच फेसबुकमा जुहारी चलेको विषयमा प्रश्न गर्दा उहाँले आफूलाई थाहा नभएको जवाफ फर्काउनुभएको हो ।

सचिवालय बैठकपछि उहाँले भन्नुभयो,‘मलाई त्यस्तो विवाद भएको जस्तो लाग्दैन । आरोप प्रत्यारोपबारे मैले त्यति बुझेको पनि छैन । पार्टीको विधिअनुसार पहिला हामीले आफ्नै कमिटीमा आफ्ना विचारहरू राख्ने, नीति, नेतृत्व र पार्टीका काम कारबाही, आलोचना, आत्मालोचना जे–जे छन् त्यो विधि अनुसार नै राख्नुपर्छ । मैले बुझेको त्यही हो, मेरो स्कुलिङ त्यही हो ।’

महासचिवले उपमहासचिवलाई फेसबुकमा लेखेर जवाफ दिनुपर्ने अवस्था आएकोबारे उहाँले भन्नुभयो,‘त्यो मलाई थाहा छैन । थाहा नभएको कुरो बोल्नुहुन्न ।’

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार  १७ : ११  बजे