झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

काठमाडौं, २७  फागुन । २४ भदौको जेन–जी आन्दोलनको क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आगजनी गर्ने घटनामा संलग्न युवकविरुद्ध मुद्दा दर्ता भएको छ। घटनामा उहाँकी पत्नी रविलक्ष्मी चित्रकार घाइते हुनुभएको थियो ।

बझाङको जयपृथ्वी नगरपालिका–११ घर भएका ३६ वर्षीय दिलबहादुर खाती विरुद्ध सोमबार जिल्ला अदालतमा आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको हो। अभियुक्त हाल फरार छन्। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको माध्यमबाट उहाँको पहिचान गरेको थियो। घटनामा घाइते भएकी चित्रकारलाई भारतको एपोलो अस्पतालमा तीन महिना लामो उपचार गरिएको थियो। आगजनीका कारण घरमा करिब १० करोड २४ लाख ५० हजार रुपैयाँ क्षति भएको र उक्त रकम आरोपीबाट क्षतिपूर्ति माग गरिएको छ। प्रहरी र अदालतले यस घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान जारी राख्ने जनाएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार  १५ : २५  बजे