‘व्यक्तिगत चमत्कारको भ्रम त्यागौँ’ : प्रणाली बलियो नभए देश अघि बढ्दैन– गगन थापा

बुटवल, १५ फागुन । गगन थापाले लोकतन्त्रमा व्यक्तिगत ‘चमत्कार’ सम्भव नहुने बताउनुभएको छ। शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देश निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा राख्नुभयो।

“यहाँ कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। डेमोक्रेसी भनेको व्यक्तिले चमत्कार गर्ने पद्धति नै होइन,” उहाँले भन्नुभयो, “प्रधानमन्त्री एक्लैले तिलोत्तमाको गाउँमा विकास पुर्‍याउन सक्दैन, त्यसका लागि मेयर, वडा अध्यक्ष र सबै तहबीच सहकार्य आवश्यक हुन्छ।”

नेपाली कांग्रेसले अघि सारेको ‘टिम नेपाल’ अवधारणाबारे उल्लेख गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो।

संविधान संशोधनका लागि बहुपक्षीय सहमति आवश्यक पर्ने उल्लेख गर्दै उहाँले एकल निर्णय र शासनको प्रवृत्तिले देशलाई अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिनुभयो।

अबका पाँच वर्षमा देशले ‘गति र ग्यारेन्टी’ दुवै पाउने दाबी गर्दै उहाँले विकासमा तीव्रता आवश्यक भए पनि स्थायित्व र सुनिश्चितता उत्तिकै जरुरी रहेको बताउनुभयो। “स्पिड चाहिन्छ, तर दुर्घटना नहुने सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो।

थापाले पहाड र तराईबीचको आर्थिक असन्तुलनप्रति चिन्ता व्यक्त गर्नुभयो। पहाडको अर्थतन्त्र कमजोर हुँदा सहर मात्र समृद्ध हुन नसक्ने उहाँको भनाइ थियो। रुपन्देही र बुटवलजस्ता क्षेत्रबाट समेत युवा विदेशिनु चिन्ताजनक रहेको उल्लेख गर्दै उहाँले शिक्षा, रोजगारी र उत्पादनमुखी नीतिमा जोड दिनुभयो। “विकास भनेको केवल पूर्वाधार निर्माण मात्र होइन,” उहाँले भन्नुभयो।

सामाजिक सञ्जालमार्फत फैलने उत्तेजनापूर्ण राजनीतिप्रति सचेत गराउँदै उहाँले प्रणाली सुधारबिना परिणाम सम्भव नहुने धारणा राख्नुभयो। सडक निर्माण प्रक्रियालाई सरल बनाउन ४१ कानुन संशोधन प्रस्ताव तयार गरिएको जानकारी पनि उहाँले दिनुभयो।

“देशलाई अगाडि बढाउने र सम्हालेर लैजाने शक्ति कांग्रेससँग छ,” उहाँले दाबी गर्नुभयो।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १५ : ४१  बजे