काठमाडौंमा अपहरण काण्ड: टेकुको होटलबाट तीन पक्राउ, पीडितको सकुशल उद्धार

काठमाडौं, १३ फागुन ।  राजधानीको मध्यभागमै एक व्यक्तिलाई अपहरण गरी होटलमा बन्धक बनाइएको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१२ टेकुस्थित रोडलाइन प्यालेस होटलमा पूर्णबहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको अवस्थामा प्रहरीले मंगलबार उद्धार गरेको हो।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–५ का फपेन्द्र न्यौपाने, कास्कीको माछापुच्छ्रे–७ का शिवबहादुर घर्ती र जुम्लाको तिला गाउँपालिका–८ का धनराज वस्नेत रहेका छन्। पक्राउ परेका घर्ती उक्त रोडलाइन प्यालेस होटलका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले होटलमा छापा मार्दै बोहरालाई सकुशल उद्धार गरेको हो। उद्धारका क्रममा उनीमाथि कुटपिट गरिएको र शारीरिक चोट लागेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार  १२ : ४३  बजे