सप्तरीमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

जनकपुरधाम, ११ फागुन । सप्तरीको महादेवा गाउँपालिकामा राजनीतिक दलको झण्डा र ब्यानर जलाएको तथा सामाजिक सञ्जालमार्फत अभद्र भाषा प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा महादेवा गाउँपालिका–५ भगवतपुर निवासी ३१ वर्षीय हरि नारायण मण्डल रहेका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ब्यानर, फोटो तथा सूर्य अंकित झण्डा जलाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीका अनुसार उक्त घटना फागुन ६ गते राति करिब ९ बजे भगवतपुरमा भएको थियो। भिडियोमा मण्डलले उत्तेजित अभिव्यक्ति दिएको र झण्डा जलाएको देखिएको जनाइएको छ। सोही आधारमा फागुन ८ गते बेलुका महादेवा गाउँपालिका–३ बाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा मण्डलले भिडियोमा देखिएका गतिविधि स्वीकार गरेपछि हिरासतमा राखिएको बताइएको छ। उनलाई ‘सार्वजनिक शान्ति विरुद्धको कसूर’अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थप गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  २१ : ३४  बजे