उम्मेदवार छनोटमा ‘जेनजी २.०’को सक्रियता : गगन र रेणुपछि विष्णु पौडेललाई समर्थन

रुपन्देही, ११ फागुन ।‘जेनजी २.०’ नामक स्वतन्त्र समूहले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ। विभिन्न राजनीतिक दलका योग्य र सक्षम उम्मेदवारलाई समर्थन गर्ने रणनीतिअनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई रोजिएको समूहले जनाएको छ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समूहका प्रवक्ता अविन लिम्बुले दलगत आस्थाभन्दा उम्मेदवारको पृष्ठभूमि, कार्यक्षमता र योगदानलाई प्राथमिकता दिइने नीति रहेको स्पष्ट पार्नुभयो। यसअघि सर्लाहीमा गगन थापा तथा चितवनमा रेणु दाहाललाई समर्थन गरिएको जानकारी उहाँले दिनुभयो।

रुपन्देही–२ मा पौडेलले भौतिक पूर्वाधार, सडक विस्तार तथा सुकुम्बासी र भूमिहीनका सवालमा उल्लेखनीय पहल गरेको मूल्याङ्कनका आधारमा समर्थन गरिएको लिम्बुको भनाइ छ। “हाम्रा साथीहरू ग्राउण्ड जिरोमा सक्रिय हुनुहुन्छ। निर्वाचन आचारसंहिताका कारण विस्तृत विवरण सार्वजनिक गरेका छैनौँ,” उहाँले भन्नुभयो, “रिपोर्टका आधारमा नै समर्थन गर्ने निर्णयमा पुगेका हौँ।”

समूहले सर्लाहीमा पूर्वप्रतिनिधि अमरेश कुमार सिंहले पटक–पटक निर्वाचित भए पनि मतदाताका मुद्दा प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको प्रतिवेदन प्राप्त भएपछि गगन थापालाई साथ दिएको दाबी गरेको छ।

यसैबीच, प्रवक्ता लिम्बुले केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता विपरीत मत सर्वेक्षण सार्वजनिक गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाउनुभयो। “हामीले पनि अध्ययन गरेका छौँ, तर आचारसंहिताको सम्मान गर्दै सार्वजनिक गरेका छैनौँ,” उहाँले स्पष्ट पार्नुभयो।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  २१ : ३०  बजे