इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव नहुने भन्ने भ्रम फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ।

शनिबार काठमाडौंमा नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले इतिहासले पन्छाइसकेका केही व्यक्तिहरूले चुनाव नहुने हल्ला चलाइरहेको टिप्पणी गर्नुभयो। उहाँले निर्वाचन हुने विषय निश्चित भइसकेको अवस्थामा यस्ता भ्रमपूर्ण प्रचारप्रति सचेत रहन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।

प्रचण्डले चुनाव नहुने हल्ला र प्रचारका पछाडि नलाग्न र दृढतापूर्वक निर्वाचन तयारीमा जुट्न अपिल गर्नुभयो। निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी तथा प्रतिगामी तत्वका चलखेलको कुनै अर्थ नरहेको उहाँको भनाइ थियो।

उहाँले वर्तमान परिस्थितिमा निर्वाचन नै तुलनात्मक रूपमा सबैभन्दा उपयुक्त र सहज विकल्प भएको दाबी गर्दै सुरुदेखि नै नेकपा निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो। देशभर पार्टीको प्रचार अभियान तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै बाँकी दिनमा युद्धस्तरमा खट्न सके नेकपालाई पहिलो पार्टी बनाउने र देशमा नयाँ परिस्थिति सिर्जना गर्ने सम्भावना रहेको उहाँले जिकिर गर्नुभयो।

केही समय हावाहुरी चलेजस्तो देखिए पनि त्यो स्थायी नहुने र जनताले वास्तविकता बुझिसकेको उहाँको दाबी थियो। कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई जोगाउने तथा अतिवादविरुद्ध संघर्ष गर्दै देशलाई सन्तुलित विकासतर्फ लैजाने संकल्पका साथ नेकपा अघि बढिरहेको प्रचण्डले बताउनुभयो।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  ०९ : २८  बजे