ओलीको पत्र बोकेर घर–घरमा एमाले, व्यक्तिगत भेटघाटमै केन्द्रित चुनावी रणनीति

काडमाडौं, ८ फागुन ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले मतदातालाई सम्बोधन गर्दै लेख्नुभएको पत्र लिएर एमालेका कार्यकर्ताहरू मतदाताको घर–घरमा पुग्न थालेका छन्। अध्यक्ष ओली स्वयं उम्मेदवार रहनुभएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा घरदैलो तथा व्यक्तिगत भेटघाटलाई मुख्य चुनावी रणनीतिका रूपमा अघि सारिएको हो।

प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार क्षेत्रका २९ वटै वडाका प्रत्येक टोलमा अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र तथा विभिन्न जनवर्गीय संगठनका छुट्टाछुट्टै घोषणापत्र पुर्‍याउने कार्य भइरहेको छ। उहाँले भन्नुभयो, “झापा–५ का सबै टोलमा घरदैलो अभियान जारी छ। दमक नगरपालिकाका वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो सम्पन्न भइसकेको छ भने बाँकी वडामा अभियान अन्तिम चरणमा पुगेको छ।”

दमकका विभिन्न टोलमा केन्द्रीय कमिटीदेखि टोल कमिटीसम्मका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरू उत्साहजनक रूपमा परिचालित हुनुभएको एमालेले जनाएको छ।

कमल गाउँपालिकामा पनि अभियान तीव्र पारिएको छ। गाउँ कमिटी अध्यक्ष हरि ढकालका अनुसार वडा नम्बर ५ को सिम्ले, वडा नम्बर २ को देवी चउण र ज्योतिनगर तथा वडा नम्बर ६ को मैनाखता र मङ्गलबारे क्षेत्रमा समूहगत घरदैलो सम्पन्न भइसकेको छ। यस्तै, वडा नम्बर ७ को बाह्रघरे र झर्का क्षेत्रमा पनि मतदातासँगको भेटघाट सकिएको जानकारी दिइएको छ।

गौरादह नगरपालिकाका सबै वडाका विभिन्न टोलमा घरदैलो अभियान सञ्चालन भइरहेको छ। नगर कमिटी निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेले क्षेत्रीय योजनाअनुसार भूगोलका आधारमा प्रत्येक घरमा पुग्ने कार्य भइरहेको जानकारी दिनुभयो। गौरीगञ्ज गाउँपालिकाका सबै वडामा पनि घरदैलो अभियान अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ।

पत्रमा के उल्लेख छ?

अध्यक्ष ओलीले मतदातालाई पठाउनुभएको पत्रमा फागुन २१ गतेलाई नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने महत्वपूर्ण दिनका रूपमा चित्रण गर्नुभएको छ। पत्रमा मुलुक गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै सामाजिक तथा पारिवारिक एकतामाथि भइरहेको प्रहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ।

पत्रमा उल्लेख छ, “हाम्रो समाज र परिवारभित्रै विभाजन ल्याउने प्रयास भइरहेको छ। परिवार र समाज कमजोर भए देश नै कमजोर हुन्छ। राष्ट्र निर्माणका लागि नेकपा (एमाले) लाई मतदान गर्नुहुन हार्दिक आह्वान गर्दछु।”

अध्यक्ष ओलीज्यू स्वयं उम्मेदवार रहनुभएको यस क्षेत्रमा एमालेले घरदैलो र व्यक्तिगत भेटघाटलाई नै मुख्य चुनावी हतियार बनाएको जनाएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  १९ : ४६  बजे