देश बनाउने र जलाउने’ शक्तिबीच महासंग्राम : अध्यक्ष ओली

काठमाडौं, ३ फागुन। केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्रामको संज्ञा दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का अध्यक्षसमेत रहनुभएका उहाँले झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाट कार्यक्रममा यस्तो अभिव्यक्ति दिनुभएको हो।

अध्यक्ष ओलीले यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई विकासलाई निरन्तरता दिने र विकासका योजना रोक्ने शक्तिहरूबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार धिमाल जातिको संग्रहालय निर्माण, होमस्टे प्रवर्द्धन तथा सडक पूर्वाधारका लागि आफू नेतृत्वको सरकारले विनियोजन गरेको करोडौँ रुपैयाँ बजेट वर्तमान सरकारले कटौती गरेको छ।

उहाँले वर्तमान सत्ता गठबन्धनले विकासविरोधी कार्य गरिरहेको आरोप लगाउँदै यसपटकको निर्वाचन देश निर्माण गर्ने कि देशलाई अस्थिरतातर्फ धकेल्ने शक्तिबीचको निर्णायक संघर्ष भएको बताउनुभयो।

“यो चुनाव जलाउने र बनाउनेबीचको हो। देश बनाउने, बचाउने शक्तिलाई रोज्ने कि देश बिगार्ने शक्तिलाई समर्थन गर्ने भन्ने विषयमा जनताले निर्णय गर्नुपर्नेछ,” अध्यक्ष ओलीले भन्नुभयो।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  २० : ४०  बजे