सिरहा, २६ माघ । गोली र नगदसहित नाइके पक्राउ परेपछि सुरु भएको विवादले सिरहा कारागारमा उग्र रुप लिँदै गएको छ ।ऋहिले कैदी र सुरक्षा निकायबीचको दोहोरो भिडन्तले अवस्था तनावग्रस्त छ । कारागारका नाइके ईन्द्रजित यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावग्रस्त बनेको हो ।
घटनापछि आक्रोशित बनेका कैदीहरू छतमाथि चढेर थाली बजाउँदै ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ लगायतका नाराबाजी गरिरहेका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको भए पनि कैदीहरूको होहल्ला जारी रहेको छ । कारागारभित्र र बाहिर करिब १ सय ५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षा टोली थपिँदै गएको छ ।जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रशासनले जनाएको छ । साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन गरिएको थियो । अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट उक्त बन्दुक, गोली र नगद रकम फेला परेको हो ।अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जना कैदीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्रि गेटबाट बाहिर निकालिएको थियो ।
प्रशासनका अनुसार नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन् ।हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा थप कडाइ गरिएको जनाइएको छ । १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएको छ ।









प्रतिक्रिया