काठमाडौं, २२ माघ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने कारण देखाउँदै निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट गर्नुभएको छ।
बुधबार झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्किएर निर्वाचन प्रचार–प्रसारमा सक्रिय हुन निर्देशन दिनुभएको हो।
उहाँले भन्नुभयो, “तपाईंहरू विभिन्न पेशा र व्यवसायका सिलसिलामा काठमाडौं आउनुभएको छ। अहिले निर्वाचनको माहोल छ। समय निकालेर आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस्। पार्टीको पक्षमा माहोल बनाउनुहोस्। आफन्त भेट्नुहोस्, साथीभाइसँग छलफल गर्नुहोस् र पार्टी तथा नेतृत्वविरुद्ध फैलाइएका भ्रमहरू चिर्नुहोस्।”
अध्यक्ष ओलीले अनुभव र तयारीबिनै देशको नेतृत्व गर्न सकिन्छ भन्ने सोचप्रति व्यंग्य गर्दै टिप्पणी गर्नुभयो। उहाँले जहाजको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “जहाजमा यात्रुको रूपमा बसेको व्यक्तिले ‘म जहाज उडाउन सक्छु’ भनेर पाइलटको सिटमा बस्यो भने के हुन्छ ? त्यस्तो जहाजमा कोही चढ्छ त ? झुक्किएर कोही चढिहाल्यो भने उसको अवस्था के होला ?”
आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचार गरिएको विषयप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुभव र जिम्मेवारीबिनाको नेतृत्वले देशलाई सही दिशामा लैजान नसक्ने धारणा व्यक्त गर्नुभयो।
निर्वाचन दुई चरणमा गर्ने विषयमा उहाँले कडा आपत्ति जनाउँदै भन्नुभयो, “प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भन्नुभएको सुनेँ। यो कुनै हालतमा स्वीकार्य हुँदैन। हिउँदमा हिउँ पर्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। निर्वाचनको मिति तोक्दा हिउँदमा चिसो पर्छ भन्ने कुरा थाहा थिएन र ?”
अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष, भयरहित र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “मतदान डर, त्रास र प्रलोभनबिनै हुनुपर्छ। मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको निगरानीबाहिर रहनु हुँदैन। यसमा सबै जना चनाखो हुनुपर्छ।”
एमालेले आगामी निर्वाचन शानदार ढंगले जित्ने दाबी गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई उच्च मनोबलका साथ मैदानमा उत्रिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “विभिन्न फिरंगीहरू आउन सक्छन्, तिनलाई चिन्नुहोस्। हामीले गरेका विकास निर्माण, सुशासन र जनचेतना अभिवृद्धिका कामबारे जनतालाई जानकारी गराउनुहोस्। मतदाताको मन जित्ने गरी काम गर्नुहोस्।”
कार्यक्रममा नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, पूर्वमन्त्री अग्नि खरेललगायत नेताहरूले पनि कार्यकर्तालाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभएको थियो।









प्रतिक्रिया