बैतडी, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा (एमाले)का तर्फबाट दामोदर भण्डारीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
बैतडीको राजनीतिक वृत्तमा अनुभवी, प्रभावशाली र स्थापित नेताका रूपमा चिनिने भण्डारी यसअघि तीनपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ लामो समयदेखि बैतडीको विकास, पूर्वाधार र जनसरोकारका विषयमा सक्रिय भूमिका खेलेका कारण जनतामाझ भरोसायोग्य नेताका रूपमा परिचित हुनुहुन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार भण्डारीको उम्मेदवारीसँगै बैतडीको चुनावी प्रतिस्पर्धा धेरै हदसम्म एकतर्फी हुने संकेत देखिएको छ। विगतका निर्वाचनमा प्राप्त जनसमर्थन, मन्त्रीका रूपमा गरेको कार्यसम्पादन र क्षेत्रसँगको निरन्तर सम्पर्कले उहाँलाई चौथोपटक संसद् प्रवेश गराउने बलियो आधार बनेको विश्लेषण गरिएको छ। यसमा थप एमालेको संगठित संरचना, स्थानीय तहसम्मको बलियो संगठन र चुनावी परिचालन क्षमताले भण्डारीको जितको सम्भावना अझ सुदृढ बनाएको छ। मनोनयन दर्तापछि एमालेका स्थानीय नेता–कार्यकर्ताहरू उत्साहित देखिएका छन्। पार्टी स्रोतका अनुसार भण्डारीको नेतृत्वमा बैतडीमा चुनावी अभियान आक्रामक रूपमा अघि बढाइने तयारी गरिएको छ।
गाउँ–गाउँमा रहेको संगठन र समर्थक सञ्जाल सक्रिय भइसकेको भन्दै यसपटक स्पष्ट र सहज जित हासिल हुने विश्वास एमालेले व्यक्त गरेको छ। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भण्डारीले आफू बैतडीका जनताको विश्वास र समर्थनलाई सम्मान गर्दै विकास र स्थायित्वका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “बैतडीका जनताले पटक–पटक दिएको माया र विश्वास मेरो ठूलो शक्ति हो। त्यसैको आधारमा फेरि पनि जनताको सेवा गर्ने लक्ष्यसहित चुनावमा होमिएको छु,” उहाँले भन्नुभयो । विगतको निर्वाचन इतिहास, वर्तमान राजनीतिक समीकरण र पार्टीको संगठनात्मक शक्तिलाई हेर्दा बैतडीमा दामोदर भण्डारीको जितको सम्भावना अत्यन्त बलियो देखिएको छ। अनुभवी नेतृत्वको रूपमा उनी पुनः प्रतिनिधिसभामा पुग्ने अपेक्षा स्थानीय तहमा व्यापक रूपमा गरिएको छ।









प्रतिक्रिया