काठमाडौं, ५ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका दुई मन्त्रीले सोमबार राजीनामा दिनुहुने भएको छ । उहाँहरुले चुनाव लड्नका लागि राजीनामा दिने जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गराइसकेको अर्का एक मन्त्रीले पुष्टि गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले पनि यस बारेमा अन्य मन्त्रीहरुलाई पनि भन्नुभएको छ। अर्का मन्त्रीले पनि राजीनामा दिने सम्भावना छ। प्रधानमन्त्री कार्कीले राजीनामा दिएर चुनाव लड्ने तयारीमा तीन जना मन्त्री रहेको अन्य मन्त्रीहरुसँग पनि भन्नुभएको छ।
तर उहाँको पक्का भइसकेको छैन। दुई मन्त्रीले भने सोमबार राजीनामा दिने पक्का भएको हो। उहाँब्हरू दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्दैहुनुहुन्छ । यसअघि उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिनुभएको थियो। उहाँ उज्यालो नेपाल पार्टीका अध्यक्ष पनि हुनुहुन्छ। घिसिङले पनि चुनावमै उम्मेदवार बन्न राजीनामा दिनुभएको हो । चुनावमा उम्मेदवार बन्नकै लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले राजीनामा दिनुभएको हो ।
बालेन झापा ५ बाट र हर्क सुनसरी १ बाट उम्मेदवार बन्दैछन्। यस्तै चितवन महानगरकी मेयर रेणु दाहाल पनि राजीनामा दिएर प्रतिनिधि सभाका लागि चितवन ३ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । मंगलबार (माघ ६ गते) प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार दर्ताको कार्यसूची छ।
दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्। प्रमुख दलहरुले टिकट वितरण गरिरहँदा नेपाली कांग्रेस भने आन्तरिक झगडाले टुंगो लगाउन सकेको छैन। कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार दर्ता गर्ने मिति केही पछि धकेल्न अनुरोध गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको छ। आइतबार रातिबाट निर्वाचन आचारसंहिता लागू भएको छ।









प्रतिक्रिया