कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा: निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, २ माघ । नेपाली कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ–आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् । आधिकारिकताबारेको विवाद निर्वाचन आयोगमा पुगेको छ ।आयोग परिसरमा दुवै पक्षबाट प्रदर्शन गर्ने, धर्ना दिनेजस्ता गतिविधि बढेको छ ।

आज दिनभर आयोगमा कांग्रेसका नेता कार्यकर्ताको बाक्लै चहलपहल देखिएको छ ।विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले आधिकारिकताको माग गरि हिजो आयोगमा निवेदन दर्ता गराएको थियो भने आज बिहान संस्थापन पक्षले दाबी निवेदन बुझाएको छ ।संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच यति बेला वैधानिकताको विषय उठेको छ ।

दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाव बढाइरहेका बेला आधिकारिकताबारेको विवाद छिटो टुङ्ग्याउन निर्वाचन आयोगमाथि समयको पनि दबाव छ ।भीड बढ्न थालेसँगै आयोगले आज बेलुका गेट बन्द गरेको छ भने आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १८ : २५  बजे