काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गर्नुभएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताउनुभयो। ‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाहअनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन,’ उहाँले भन्नुभयो, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनु भयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नु भयो ।
पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनमा धकेलिएको बताउनुभएको छ । ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ खड्काले बैठकमा भन्नुभयो, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नु भएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’








प्रतिक्रिया